दैलेख : दैलेख जिल्ला अदालतले बालिकालाई बलात्कार कसुरमा एक जनालाई जन्मकैद दश वर्ष फैसला सुनाएको छ । १७ बर्सिया बालिकालाई बलात्कार गरेको कसुरमा यहाँको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दश वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी गणेशप्रसाद रेग्मीले जानकारी दिए । उजुरी लगतै अदालतको अनुमति लिई सुरक्षित गर्भ पतन गराई मुद्दाको अनुसन्धान थालिएको उनले बताए । २०८१ वैशाख १३ गते ललाइफकाइ गरी बलात्कारबाट गर्भ रहन गएको जनाउँदै पीडित पक्षले २०८१ कात्तिक ११ गते प्रहरीमा उजुरी दिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा ०८१ मङ्सिर ४ गते जबरजस्ती करण घटनाको अभियोग दर्ता गराएको थियो । त्यही दिन जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट पुर्पक्षका कारागारमा थुनामा पठाइएको थियो ।
पीडित युवतीले कसुरदारलाई गर्भ रहेको जानकारी गराउँदा समेत बेवास्ता गरेपछि ६ महिनाको गर्भ बोकेर प्रहरीको सहायतामार्फत कानुनी प्रक्रिया थालिएपछि अदालतको अनुमति लिई सुरक्षित गर्भपतन गराइसकेर किशोरीले आफ्नो पढाइलाई निरन्तरता दिइएकी थिइन् ।











